नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राथमिकता संसद पुनर्स्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारेका छन्। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटवार्तामा सभापति देउवाले उक्त धारणा राखेका हुन्।
भेटमा सभापति देउवाले नेपाली कांग्रेस निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गराउन सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। साथै, उनले निष्पक्ष र भयरहित निर्वाचनका लागि आवश्यक सुरक्षा वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सञ्चारमन्त्री खरेलले शुक्रबार कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटवार्ताका क्रममा देउवाले कांग्रेसको स्पष्ट प्राथमिकता निर्वाचन नै भएको जानकारी दिएको मन्त्री खरेलले बताए।
‘निर्वाचनको वातावरण बनाउन उहाँले सरकारसँग आग्रह गर्नुभएको छ। सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्छ भन्ने चासो उहाँको रहेको छ,’ मन्त्री खरेलले भने, ‘निर्वाचन सम्पन्न गराउन नेपाली कांग्रेसले सम्पूर्ण सहयोग गर्छ भन्ने उहाँको भनाइ छ।’




