तनहुँ जिल्ला सदरमुकाम दमौली बजारमा रहेको व्यास नगरकार्यपालिकाको बैठकले नगरको वडा नं. १३मा जग्गा खरिद गरी आधुनिक सरसफाइ केन्द्र स्थापनाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले दशकौंदेखि थाती रहेको फोहरमैलाको स्थायी ब्यबस्थापन र समाधानका लागि ऐतिहासिक निर्णय गरेको हो । व्यास-२ का वडाध्यक्ष काशिराम श्रेष्ठको संयोजकत्वमा गठित जग्गा खरिद समितिको राय अनुसार उक्त स्थानमा जग्गा खरिद गरी उक्त गौरबको आयोजना अघि बढाउने निर्णय गरिएको नगरकार्यपालिकाका प्रवक्ता एबं वडा नं. ०६ का वडाध्यक्ष जीवन गुरुङ्गद्वारा जारी प्रेस बिज्ञप्तीमा जनाइएको छ । उक्त निर्णय सँगै व्यास नगरपालिकाको नमुना र आधुनिक सरसफाइ केन्द्र स्थापनाको बर्षौं देखिको थाती योजनाले बल्ल अहिले आएर मुर्तरुप लिन लागेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । व्यास-१३ मा स्थापना हुने उक्त अत्याधुनिक सरसफाइ केन्द्र सँगै जोडिएर १३ नं. वडामा कृषि, उद्योग, पर्यटन, शिक्षा, रोजगारी र सडक स्तरोन्नतिमा पनि थप लगानी र बिकास भित्रिने उक्त वडाका वडाध्यक्ष बसन्त बहादुर आलेले बताउनुभयो । सरसफाइ ब्यबस्थापनको क्षेत्रमा धनगढी उपमहानगरपालिका र वालिङ नगरपालिकाको जस्तै नमुना, सफल र बहुउद्देश्यीय परियोजनाको रुपमा बिकास गर्न सके यो परियोजना देश बिदेशमा समेत उदाहरणीय बन्न सक्ने र अध्ययन भ्रमणका लागि आन्तरिक पर्यटनको पनि आगमन हुने संयोजक श्रेष्ठले बताउनुभयो । सामाजिक संजालहरुमार्फत देश बिदेशमा रहने व्यास नगरबासीहरुले उक्त ऐतिहासिक निर्णयको स्वागत र सफल कार्यान्वयनको शुभकामना व्यक्त गर्नुभएको छ । उक्त परियोजना कागजमा मात्र सिमित नराखी द्रुत कार्यान्वयनमा लैजानुपर्ने र रोजगारीका लागि १३ नं. वडाबासीलाई बिशेष प्राथमिकता दिइनुपर्ने कुरामा सबै वडाबासीहरुको मतैक्यता रहेको छ । नगरप्रमुख न्यौपानेको दोश्रो कार्यकालको यो गौरवको आयोजनाको सफल कार्यान्वयनलाई उहाँको भाबी राजनीतिक जीवनको सफलताको कडीको रुपमा समेत नगरबासीले हेरिरहेका छन् ।




